काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज तराई क्षेत्रका अधिकांश स्थानमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै भू–भाग हुस्सुले ढाकिएका छन्।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

ADVERTISEMENT

आज राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा पनि उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नियमित रूपमा जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना ध्यानपूर्वक लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।