काठमाडौं।  जेन–जी आन्दोलनका समर्थकहरूले आज निर्वाचन आयोगको केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले ‘निर्वाचन धोका हो’, ‘जेन–जीको माग पूरा नभए निर्वाचन हुन दिँदैनौं’ जस्ता नारा लगाउँदै आन्दोलनलाई तीव्र बनाएका थिए।

प्रदर्शनकारीहरूले आगामी फागुनमा हुन लागेको भनिएको निर्वाचनलाई ‘जनभावनाविपरीतको धाँधली’ भनेर विरोध जनाएका छन्। उनीहरूको मुख्य माग जेन–जी आन्दोलनका क्रममा उठेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य, विदेशी हस्तक्षेपको विरोध र नयाँ संविधानसभामार्फत नयाँ व्यवस्था  पूरा नभएसम्म कुनै पनि निर्वाचन स्वीकार नगर्ने रहेको छ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरू निर्वाचन आयोगको गेटतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले  प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
जेन–जी प्रदर्शनका संयोजकहरूले यो प्रदर्शनलाई ‘शान्तिपूर्ण चेतावनी’ भनेका छन्। उनीहरूले यदि सरकारले मागहरू सम्बोधन नगरे थप कडा प्रदर्शन गर्ने चेतावनी दिएका छन्। यसअघि पनि जेन–जी समर्थकहरूले सिंहदरबार, प्रधानमन्त्री कार्यालय र विभिन्न सरकारी निकायअगाडि यस्तै प्रदर्शन गर्दै आएका थिए ।

निर्वाचन आयोगले भने  निर्वाचन तयारीलाई तीव्रता दिएको  छ। आयोगका प्रवक्ताले शान्तिपूर्ण प्रदर्शन गर्न पाइने तर कानुन हातमा लिन नपाइने बताएका छन्।सरकारलाई प्रदर्शनकारिको माग सम्बोधन गरेर चुनाब गराउन सकस भएको देखिन्छ।