काठमाडौं । रास्वपा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनबीचको राजनीतिक सहमति र प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतासँग छलफल गरेलगत्तै देशमा चुनावी माहोल ह्वात्तै बढेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दललाई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न दिएको समय आज सकिँदै छ ।

सयवटा दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आजसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् । त्यसका लागि सबै दल आन्तरिक छलफल र बैठकमा जुटेका छन् ।

सोमबार अपराह्नसम्म कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाल, जसपा, लोसपालगायत दलले बन्दसूची बुझाउने भएका छन् । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दछै । एमालेले अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिएको छ । नेकपाका संयोजक प्रचण्ड र माधवकुमार नेपालले समानुपातिक बन्दसूची तयार पार्दैछन् । रास्वपाले रवि लामिछाने र बालेनले टुंग्याएको बन्दसूची आयोगमा बुझाउँदैछ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बन्दसूची तयार पार्नेछ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने छ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिनेछ । त्यसपछि माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।