काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छन् ।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन् ।
‘यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएकी छु,’ उनले भनेकी छन् ।
महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भन्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँने बताएकी छन् ।
‘यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ”, उनले भनेकी छन् ।












