काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको छ। अर्थ मन्त्रालयका अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको हो । जुन सो अवधिको लक्ष्यको ७८.७४ प्रतिशत मात्र हो।

चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। मंसिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ निर्धारण गरिएकोमा लक्ष्य अनुसारको राजस्व भने संकलन हुन सकेको छैन ।

मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो। तर सो महिनामा ८० अर्ब २७ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ, जसले ८४.३१ प्रतिशत प्राप्ति देखाउँछ। मंसिर २९ गते एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।

ADVERTISEMENT

गत आर्थिक वर्ष २०८१/८२ सँग तुलना गर्दा चालु वर्षको प्रगति केही सुधारिएको देखिए पनि लक्ष्यअनुसार भने अझै कमजोर नै छ। अघिल्लो वर्ष २०८१।८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

ADVERTISEMENT

मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ तोकिएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ सङ्कलन भएको थियो। सो वर्ष मंसिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो।