काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पौने सात खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
कात्तिक मसान्तसम्म महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५. ३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८. २ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ४ सय ७८ र २ लाख ९४ हजार १ सय ५ रहेको थियो ।






