काठमाडौं। चालु आर्थिक वर्षको पुस महिनासम्म मात्र करिब २ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अमेरिकी डलरको मूल्य बढ्दा र नेपाली रुपैयाँ कमजोर हुँदै गएपछि रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवका पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर कुल १० खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा अमेरिकी डलरमा विप्रेषण ३२.३ प्रतिशतले बढेको छ।

ADVERTISEMENT

गत आवको तुलनामा यस वर्ष रेमिट्यान्स वृद्धि उल्लेखनीय रहेको छ। गत आव पुससम्ममा कुल रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले मात्र बढेको थियो। २०८२ पुसमा भित्रिएको रेमिट्यान्स १ खर्ब ९१ अर्ब रुपैयाँ ६२ करोड थियो भने गत आव सोही समयमा १ खर्ब २२ अर्ब रुपैयाँ ४४ करोड थियो।

ADVERTISEMENT

यसैगरी चालु आव पुससम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ, जुन गत आव सोही अवधिको ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

वैदेशिक रोजगारीका लागि चालु आवमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ६ हजार ८ सय ७ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७ सय ३३ छ। गत आव सोही अवधिमा क्रमशः २ लाख ३० हजार र १ लाख ६२ हजार व्यक्ति थिए।

ADVERTISEMENT

नेपालमा अमेरिकी डलरको मूल्य बढ्दै गएपछि रेमिट्यान्समा बढोत्तरीले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।