काठमाडौं । कात्तिक दोस्रो साताको वर्षाले झण्डै ३ अर्ब क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कार्तिक १५ देखि १७ गतेसम्म परेको अविरल बेमौसमी वर्षाले देशभर करिब २ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
प्रतिवेदनका अनुसार सबैभन्दा ठूलो असर धानबालीमै परेको छ । पाक्ने चरणमा रहेका धान डुबानमा पर्दा र काटिसकिएका धानमा पानी पस्दा देशभरका २० हजार १।५२ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। यसले ७५ हजार ६७४ मेट्रिक टन उत्पादनमा गिरावट ल्याएको छ, जसको बजार मूल्य अनुसार २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। झापा, मोरङ, सुनसरी, बर्दिया, कपिलवस्तुजस्ता मुख्य अन्न भण्डार मानिएका जिल्लाहरूमा किसानहरू विशेष रूपमा मारमा परेको उल्लेख छ।
प्रदेशगत विवरण हेर्दा कोशी प्रदेश सबैभन्दा बढी प्रभावित रहेको प्रतिवेदनको निष्कर्ष छ। कोशी प्रदेशले मात्र २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति व्यहोरेको अनुमान छ, जुन कुल क्षतिको ठूलो हिस्सा हो। त्यसपछि मधेस प्रदेशमा २२ करोड ४७ लाख रुपैयाँ, लुम्बिनी प्रदेशमा १३ करोड ६८ लाख रुपैयाँ, गण्डकी प्रदेशमा १ करोड ८० लाख रुपैयाँ र वाग्मती प्रदेशमा ४७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। कोशीका झापा, मोरङ र सुनसरी जिल्लाका धान उत्पादनमा निर्भर किसानहरू सर्वाधिक मारमा परेका छन्।
धानबाहेक तरकारी तथा अन्य नगदे बालीहरू पनि बेमौसमी वर्षाले नराम्ररी प्रभावित भएका छन्। देशभर ५८६ हेक्टर क्षेत्रमा लगाइएको तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सुनसरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीजस्ता तरकारी उत्पादनमा अगाडि रहेका जिल्लाहरू धेरै प्रभावित भएका छन्। यस्तै आलु, कोदो, दलहन, तेलहन र केराबाली मिलेर ६०१ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा करिब २ करोड ४१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनले देखाएको छ।
जिल्लागत क्षतिमा झापा सबैभन्दा अगाडि देखिन्छ। झापाले मात्र ८० करोड ७३ लाख रुपैयाँ बराबरको धान बाली क्षति बेहोरेको छ। त्यस्तै मोरङले ५८ करोड ७८ लाख, सुनसर्रीले ४५ करोड ३१ लाख, कपिलवस्तुले २३ करोड ६ लाख र बर्दघाट–सुस्ता पूर्वले १८ करोड ६१ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ। पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा क्षति कम भए पनि काभ्रे, दोलखा र धादिङमा धान तथा कोदो बालीमा आंशिक प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ।











