काठमाडौं । तिहारपछि रिलिज भएको चलचित्र ‘परान’ ले हालसम्म १६ करोड कमाउँदै यस वर्ष रिलिज भएका सबै चलचित्रको कमाईलाई उछिनेको छ ।
प्रदर्शनको ३०औं दिन अर्थात् शनिबारसम्म दीपकप्रसाद आचार्य डेब्यु निर्देशित ‘परान’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको हो । यो चलचित्रले शनिबारसम्म १६ करोड १६ लाख ७७ हजार रुपैयाँ कमाएको छ।
‘छक्का पञ्जा’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै ‘परान’ सर्वकालीन धेरै कमाउने सूचीको छैटौँ स्थान बनाउन सफल भएको छ। ‘छक्का पञ्जा’ को व्यापार १६ करोड १० लाख रहेको छ।
चाँडै यो चलचित्रले ‘जारी’ को रेकर्ड तोड्ने देखिन्छ। पाँचौं स्थानमा रहेको ‘जारी’ को कूल कमाइ १७ करोड ४८ लाख रुपैयाँ छ ।
चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जेरी अन टप’ ले १२ करोड २३ लाख, ‘जारी २’ ले ६ करोड १९ लाख र ‘मनविनाको धन’ ले तीन करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ ।











