काठमाडौं । चलचित्र ‘बिगुल’ को पोस्टरसँगै प्रदर्शन मिति आइतबार सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट प्रदर्शनमा आउने छ ।

सार्वजनीक तीन डिजाइनका पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हूल प्रदर्शनकारी देखिन्छन् । दोस्रो पोस्टरमा बेनीशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा छन् भने अर्को पोस्टरमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएको छ ।

गत वैशाख दोस्रो साता शुभमुहूर्त गरी जेठबाट छायांकन थालिएको ‘बिगुल’ मा जुन विषयवस्तु उठाइएको छ, सोही विषय र माग लिएर गत भदौमा जेनजीले देशब्यापी आन्दोलन गरेका थिए । जेनजीले आन्दोलन गर्नुभन्दा चार महिनाअघि नै तिनै विषय केन्द्रित भई चलचित्र निर्माण गरिनु संयोग भएको निर्माण पक्षले जनाएको छ ।

ADVERTISEMENT

‘बिगुल’ मा हामीले उठाएको मूल मुद्दा र पछि जेनजीले उठाएका माग, देश विकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो फिल्म हामीले जेनजी आन्दोलनप्रति समर्पित गरेका छौं,’ कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्, ‘फिल्मले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुकेको छ । आमनेपालीको समृद्ध र विकसित नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ । जागरणको सन्देशका साथै प्रयाप्त मनोरञ्जनलाई समेत ख्याल गरिएको ‘बिगुल’ विश्वभर रहेका नेपालीले हेर्नुपर्छ भनेर आह्वान गर्दछु ।’

ADVERTISEMENT

चलचित्रले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ । समाजमा महिलाले गर्नुपरेको संघर्ष र बलिदानीको पारिवारिक कथा पनि समेटिएको उनी बताउँछन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, सम्वाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन ,एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रको सहनिर्मातामा सूर्य कान्त कोइराला र महेश कोइराला छन् ।