एजेन्सी । मलेसियामा भीषण वर्षा र बाढीका कारण देशभर व्यापक प्रभाव परेको छ। मलक्का राज्यमा ११ वर्षका एक बालक बाढीको पानीमा बगेर मृत्यु भएको पुष्टि भएको छ। उद्धारकर्मीहरूले बालकलाई अन्तिम पटक देखिएको स्थानबाट करिब ६०० मिटर टाढा मृत फेला पारेका हुन्।

देशभरका विभिन्न क्षेत्रमा बाढीले जनजीवन प्रभावित गरेको छ। सामाजिक कल्याण विभागका अनुसार, हालसम्म २६ हजार ९२८ भन्दा बढी मानिसहरू आफ्नो घरबार छोडेर सुरक्षित स्थानमा विस्थापित भएका छन्। विस्थापितहरूलाई २७३ राहत केन्द्रहरूमा आश्रय दिइएको छ। तीमध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र कलान्तान राज्य रहेको छ, जहाँ दर्जनौं गाउँ पानीमुनि डुबेका छन् र यातायात प्रणाली पनि ठप्प छ।

ADVERTISEMENT

स्थानीय अधिकारीहरूले उद्धारकार्य तीव्र रुपमा सञ्चालन गरिरहेका छन्। बाढीले करिब सडक र पुलहरू क्षतिग्रस्त बनाएपछि केही क्षेत्रसम्म पुग्न उद्धारकर्मीहरूलाई कठिनाइ भइरहेको छ। स्थानीय प्रशासनले प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने र राहत सामग्री उपलब्ध गराउने काम गरिरहेको छ।

ADVERTISEMENT

यसैबीच, मौसम विभागले चेतावनी जारी गर्दै बाढीको स्थिति अझ बिग्रन सक्ने बताएका छन्। मलक्का जलसन्धिबाट भित्रिँदै गरेको उष्णकटिबन्धीय आँधी ‘सेन्यार’ले लगातार वर्षा र तेज हावा ल्याइरहेको छ। विभागले नागरिकहरूलाई सतर्क रहन, उच्च जोखिम भएका क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालन गर्न आग्रह गरेको छ।

विशेषज्ञहरूले बाढी र आँधीको जोखिम अझ बढ्ने चेतावनी दिएका छन्। उनीहरूले यस परिस्थितिमा जनजीवन र सम्पत्तिको सुरक्षा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, राहत र उद्धार अभियानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

ADVERTISEMENT

मलेसियामा लगातार वर्षा र आँधीको यो स्थिति केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ, जसले थप विस्थापन र क्षति निम्त्याउन सक्छ।