काठमाडौं। सन् २००८ को बिश्वब्यापी वित्तीय संकटपछि विश्वभर ठूलो आकारका बैंकहरू विफल हुँदा अर्थतन्त्रमा पर्नेसक्ने गम्भीर जोखिम स्पष्ट भएपछि, नेपाल राष्ट्र बैंकले पनि प्रणालीगत रूपमा महत्त्वपूर्ण घरेलु बैंक (D-SIB) डि-एसआइबि पहिचान गर्ने नयाँ खाका सार्वजनिक गरेको छ।

विश्वमा जी-ट्वान्टी राष्ट्रहरूले ‘टु बिग टु फेल’ भन्ने अवधारणालाई अन्त्य गर्ने लक्ष्यसहित वासेलको बैंकिंग सुपरीवेक्षण समिति मार्फत बिश्वका प्रणालीगत रुपमा ठुला बैंकहरुको मूल्यांकन पद्धति लागू गरेका थिए। त्यही आधारमा वासेलको बैंकिंग सुपरीवेक्षण समितिले सन् २०१२ मा प्रणालीगत रुपमा महत्त्वपूर्ण घरेलु बैंक (डि एसआइबि) सम्बन्धी खाका तयार पारेको थियो, जसले प्रत्येक देशलाई आफ्नै वित्तीय प्रणालीको जोखिम मूल्यांकन गर्दै डि-एसआइबि पहिचान गर्न अधिकार दिन्छ।

त्यसैअनुसार, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०१५/१६ र २०१९/२० तथा चौथो रणनीतिक योजना (२०२२–२०२६) मा उल्लेखित कार्यसूचीलाई अघि बढाउँदै, नेपालमा पहिलोपटक प्रणालीगत रूपमा महत्त्वपूर्ण घरेलु बैंकको पहिचान गर्न विस्तृत खाका तयार गरेको हो।

राष्ट्र बैंकका अनुसार, यो खाकाले वित्तीय प्रणालीको स्थिरता कायम गर्न, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन सुधार गर्न र प्रणालीगत रूपमा महत्त्वपूर्ण घरेलु बैंकहरूलाई थप पूँजीसहित संचालन गराउने लक्ष्य लिएको छ। प्रणालीगत रूपमा महत्त्वपूर्ण घरेलु बैंकको असफलताले अर्थतन्त्रमा ठूलो जोखिम पैदा गर्ने भएकाले, ती बैंकहरूलाई उच्च जोखिम वहनका लागि अतिरिक्त मापदण्ड लागू गरिने बताइएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण घरेलु बैंकहरुको पहिचान तथा नियमनले वित्तीय प्रणालीको स्थिरता, जोखिम नियन्त्रण तथा बैंकहरूको सुरक्षात्मक क्षमतामा महत्वपूर्ण सुधार ल्याउनेछ।’ नयाँ फ्रेमवर्क लागू भएपछि अब नेपालमा बैंकहरूको आकार, अन्तरसम्बन्ध, प्रतिस्थापन कठिनाइ र जटिलता लगायतका सूचकका आधारमा“प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरु घोषणा गरिनेछ। यसले प्रणालीगत जोखिम घटाउने र बैंकिङ प्रणालीलाई अझ दिगो तथा सुरक्षित बनाउन योगदान पुर्‍याउने अपेक्षा राखिएको छ।