काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देवलको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई मुम्बईको ब्रिच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
दुई साताअघि अस्पतालबाट डिस्चार्ज भई घर फर्केका उनको सोमबार दिउँसो १ बजे मुम्बईस्थित घरमै निधन भएको बताइएको छ । धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता नोभेम्बर १२ मा डिस्चार्ज हुनुभन्दा पहिले दुई दिनसम्म भेन्टिलेटरमा थिए।
करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भारतीय सञ्चारमाध्यम एबिपी न्युजका अनुसार धर्मेन्द्रको निधनको खबर आएपछि धेरै बलिउड स्टारहरू अभिनेतालाई अन्तिम श्रद्धाञ्जली दिन घाटमा पुगेका छन्। अमिताभ बच्चन, उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि स्वर्गीय अभिनेतालाई अन्तिम बिदाइ दिन पुगेका छन्।
धर्मेन्द्र लामो समयदेखि बिरामी थिए । सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । ‘शोले’, ‘चुपके चुपके’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘प्रतिज्ञा’लगायत दर्जनौँ सदाबहार चलचित्रमा उनले काम गरेका छन् ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका धर्मेन्द्रलाई भारत सरकारले सन् २०१२ मा पद्मभूषणबाट सम्मान गरेको थियो ।






