काठमाडौं । नेपाली चलचित्रका निर्माता दिलीप पौडेलको ७४ वर्षको उमेरमा निधन भएको छ । ज्वाला, जीवन संघर्षलगायतका चलचित्रका निर्माता पौडेलको बुधबार राति निधन भएको हो ।
उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति ११ बजेर १६ मिनेटमा उनको निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
पौडेलले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई लिएर ‘ज्वाला’ नामक चलचित्र निर्माण गरेका थिए ।
त्यस्तै, राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर ‘जीवन संघर्ष’ नामक चलचित्र बनाएका थिए ।
पौडेलले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका हुन् । उनले डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी संघको सस्थापक अध्यक्षसमेत रहेको उनले काठमाडौंको ओम शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आएका थिए ।










