काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले जेनजजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको जानकारी दिए ।
निजी क्षेत्रमा भएको क्षतिमध्ये करिब २३ अर्बको बिमा दाबी भएको उनले बताए । अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने बताए । निजी क्षेत्रलाई नियन्त्रणमुखी प्रणाली नबनाइने उनको भनाइ छ ।
उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न पुँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा उनले जोड दिए । घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले करका विषयमा एकद्वार प्रणाली लागू हुनुपर्ने, प्रविधिमैत्री कर प्रणाली बनाउनुपर्ने, सबै प्रकारका कारोवारलाई एउटै प्रकृतिमा दाज्न नहुने लगाएतका सुझाव दिए । राष्ट्र बैंकबाट जारी चालु पुँजी कर्जा निर्देशिकालाई खारेज गर्न माग गरे ।
घरजग्गा व्यवसायमा देखिएको सुस्ततालाई अन्त्य गर्न पनि आवश्यक व्यवस्था गर्न चेम्बरले सरकारलाई सुझाव दिएको छ भने व्यावसायिक वातावरणमा सुधार ल्याउन तत्काल लगानी प्रवर्द्धन नीति ल्याउनुपर्ने माग गरेको छ ।






