काठमाडौं । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकै कारण कलाकार सीताराम कट्टेल धुर्मुस विरामी परेका छन् । रंगशाला निर्माणबाट हात झिके पनि अहिलेसम्म आर्थिक हिसाबकिताब फस्र्योट नभएकाले उनी लामो समयदेखि भरतपुरदेखि सिंहदरबारसम्म दौडधूप गरिरहेका थिए । यही क्रममा उनी मानसिक र शारीरिक रूपमा अस्वस्थ भएका हुन् ।
तीन अर्ब लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणबाट धुर्मुस सुन्तली फाउन्डेसनले बीचमै हात झिकेको थियो । आर्थिक सहायता गर्ने प्रतिबद्धता जनाएकाले पैसा नदिएपछि अपेक्षा गरिए जति चन्दा संकलन नभएपछि धुर्मुस सुन्तली त्यहाँबाट बाहिरिएका थिए । तर जति काम भएको हो त्यतिको आर्थिक फस्र्योट हुन सकेको छैन । उनले काम छाड्दा ५४ करोड खर्च भइसकेको थियो ।
सरकारी निकायले ६ पटकसम्म गरेको अध्ययनमा पनि रंगशालामा ६० करोड जतिको काम भएको र धुर्मुस सुन्तली फाउन्डेसनको कुनै कैफियत नदेखिएको प्रतिवेदन तयार पारेको थियो । दिनरात आफूविरुद्ध लागेको भ्रष्टाचारको ट्याग मेटाउन सरकारी अड्डामा धाएका धुर्मुसमा गम्भीर समस्या देखिएको परिवारजनले जनाएका छन् । वर्षौसम्म पैसा खायो भन्ने आरोप, धम्की र सरकारी ढिलासुस्तीले गर्दा उनी शारीरिक र मानसिक रुपमा थाकेका छन् ।
कलाकार कुञ्जना घिमिरे सुन्तलीले श्रीमानको अवस्था सुधार हुँदै गएको बताएकी छन् । ‘सामुदायिक प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीमा बिहानको उपचार लिँदै। शारीरिक अनि मानसिक दुबै रुपले धेरै नै गल्नुभएको छ, तर हजुरहरुको मायाले उहाँ छिट्टै पहिलेको सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आस जागेको छ,’ कुञ्जनाले शुक्रबार सामाजिक सञ्जालमा लेखेकी छन् ।
धुर्मुसले आफूले गल्ती गरेकाे भए सजाय दिन, नभए छिटाे याे विवाद टुंग्याउन भन्दै आएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणबाट हात झिकेपछि अहिले भरतपुर महानगरपालिकाले स्वामित्व लिएर निर्माणकाे काम अघि बढाएकाे छ ।










