काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। उनकाे कार्यकाल माघ १२ गतेदेखि लागू हुने भएको छ।
हाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाँडे रहेका छन्। पाँडेको कार्यकाल माघ ११ गते समाप्त भएपछि आचार्यले बैंकको शीर्ष नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।
आचार्य सानिमा बैंकसँग २१ वर्षदेखि निरन्तर आवद्ध रहँदै आएका छन्। उनले आफ्नो बैंकिङ् करियर वि.सं. २०६१ मा सानिमा बैंकमै प्रारम्भ गरेका थिए। लामो समयदेखि संस्थामा विभिन्न जिम्मेवारी वहन गर्दै आएका उनले बैंकको विकास र सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन्।
शैक्षिक रूपमा, आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट व्यवसाय प्रशासन तथा व्यवस्थापनमा स्नातकोत्तर डिग्री हासिल गरेका छन्। साथै, उनले भारतको मालवीय राष्ट्रिय प्रौद्योगिकी संस्थान जयपुरबाट विद्युत, इलेक्ट्रोनिक तथा सञ्चार इन्जिनियरिङमा स्नातक गरेका छन्।
स्थापनाकालदेखि सानिमा बैंकसँग आवद्ध रहेका आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुखका रूपमा कार्य गर्दै नेतृत्व प्रदान गरिसकेका छन्। उनले प्रमुख सूचना अधिकृत,मानव स्रोत तथा वित्त प्रमुख र सञ्चालन प्रमुख (COO) का रूपमा समेत जिम्मेवारी निर्वाह गरेका छन्।
क्रेडिट जोखिम व्यवस्थापन, पूर्वाधार/लघुवित्त तथा डिजिटलाइजेशन क्षेत्रमा दक्ष मानिने आचार्य एक अनुभवी र दूरदर्शी बैंकिङ् व्यवसायीका रूपमा परिचित छन्।
सानिमा बैंकले आचार्यको लामो अनुभव, सशक्त नेतृत्व क्षमता र संस्थाप्रतिको प्रतिबद्धताले बैंकलाई अझ सुदृढ, प्रविधिमैत्री र ग्राहक–केन्द्रित वित्तीय संस्थाका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।












