काठमाडौँ । सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संसोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो ।

पालिकाले जग्गा वर्गीकरण नगरेका कारण देशभरका पाँच सय पालिकामा कित्ताकाट रोकिएको थियो । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म देशभरका सात सय ५३ मध्ये दुई सय ५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् ।

२०८१ भदौ २७ मा भू–उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असार मसान्तसम्मको समय दिइएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । योसँगै व्यक्तिगत घटना दर्तामा भएको नाम, जन्ममिति, बसाईँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्चाउन मिल्ने भएको छ ।

ADVERTISEMENT

गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै भोलिदेखि यही २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको छ ।

सरकारले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।