काठमाडौँ । पहिलो संविधानसभाका चार जना सभासद्सहितको टोलीले निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ ।

सभासद् रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमा नै सुनिश्चित गर्नुपर्ने माग गरका हुन् ।

जवाफमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिपरिषदमा छलफल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

ADVERTISEMENT

उनले चुनावलाई खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने बताए । खर्चिलो चुनावका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

ADVERTISEMENT

सभासद्हरुले संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने माग गरे ।

ADVERTISEMENT

सभासद् डा पाण्डेले कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै नदिएको बताए। यही कारण संसदमा महिला प्रतिनिधित्व सन्तोषजनक हुन नसकेको र अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।