काठमाडौं । बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि रसुवाका बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न थालेको छ।

बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। विद्युत् अवरुद्ध भएका प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक रूपमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न सकिने व्यवस्था मिलाउन मन्त्रालयले तयारी थालेको हो।

ADVERTISEMENT

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा ५ सय वटा सोलार पावर बैंक प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ। मन्त्रालयले ती पावर बैंक प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई हस्तान्तरण गर्ने जनाएको छ।

ADVERTISEMENT

ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जनका अनुसार रसुवाको सबस्टेसनमा ठूलो क्षति भएकाले तत्काल विद्युत् सेवा नियमित गर्न कठिनाइ भएको छ। त्यसैले प्रभावित नागरिकलाई तत्काल राहतस्वरूप सोलार पावर बैंक उपलब्ध गराउन लागिएको हो।

मन्त्रालयका अनुसार त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छन्। जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बराबरको उत्पादन प्रभावित भएको छ।

ADVERTISEMENT

विद्युत् आपूर्तिमा परेको असरबारे जानकारी लिन ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले स्युचारटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) को निरीक्षण गर्ने भएका छन्। बाढीपछि देशभर विद्युत् आपूर्तिको अवस्था र क्षतिको विवरणबारे मन्त्री श्रेष्ठले जानकारी लिने मन्त्रालयले जनाएको छ।

यस्तै, सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।

सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् लाइन पुनः सञ्चालन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशन दिइएको छ।

आवश्यक परे भिमफेदीमा रहेको जेनेरेटरसमेत प्रभावित क्षेत्रमा पठाउन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।