काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र भिक्टर पौडेलमाथि दुई करोड रुपैयाँको अनियमितताको आरोप लगाएका छन्। आइतबार उनी मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेर त्यहाँको जनसमुदायलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।
‘फस्ट नेपाल, फस्ट नेपाली’ अभियानको क्रममा प्रसाईंले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आग्रह गरे। उनले सुकुम्बासी समुदायमाथि अन्याय गर्नेहरूका परिवारलाई पनि आफूले त्यस्तै व्यवहार गर्ने चेतावनी दिए।
उनका अनुसार, “बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन दुई करोड खाएका छन्।” उनले दलहरूले सुकुम्बासी समुदायलाई केवल भोट बैंकको रूपमा प्रयोग गरेको आरोपसमेत लगाए।
प्रसाईंले आफू भोट माग्न होइन, सुकुम्बासीहरूलाई पक्की घर बनाउन सहयोग गर्न आएको दाबी गरे। साथै उनले सम्पूर्ण राजनीतिक दलहरू र काठमाडौं महानगरका मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनी पनि दिए।
यसैबीच, सुकुम्बासी बस्ती खाली गर्न महानगरपालिकाले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ। अल्टिमेटम समाप्त भएपछि बस्ती खाली गराउने तयारी महानगरले गरेको छ।












