म्याग्दी, सुख्खा पहाडको टुप्पोमा टाढै देखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्धार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो लाग्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयले ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरेका छन् । नारच्याङ देखि अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो छ । स्थानीयबासी माइकल पुनका अनुसार, पदमार्ग नभएका कारणले पर्यटक गुफा सम्मै पुग्न सकेका छैनन् । मुख्य पदमार्ग देखि ३० मिनेट हिडेपछि समुन्द्रि सतहदेखि तीन हजार नौ सय मिटर उचाईमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ ।
करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै छ । गुफा सम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले जोखिम छ । पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङखला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।








