काठमाडौं । चुनावको मुखमै मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी छाड्ने क्रम सुरु भएको छ । केही दिनअघि रास्वपाका चर्चित नेता दीपक महतो रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि रास्वपा परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।
शर्माले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् । ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरुमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेस गर्दछु,’ उनले विज्ञप्तिमा भनेकी छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले मधेशमा घण्टीको मत बढाउन गरेको प्रयासमा ममताको राजीनामाले गम्भीर धक्का पुग्ने विश्लेषण गरिएको छ ।
मधेश प्रदेशमा टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपामा तीव्र असन्तुष्टि छ । राप्रपा प्रवक्ता मनिष झा र अमरेशकुमार सिंहमाथि टिकट बिक्री गरेको आरोप लागेको छ ।
चुनावकै मुखमा एकपछि अर्को प्रभावशाली नेताले पार्टी परित्याग गरेपछि रास्वपालाई मधेशमा ठूलो धक्का लागेको छ । विगतमा पार्टीको संगठन जोगाएर यहाँसम्म ल्याउने नेताहरुमाथि अपमान गर्ने, अवसर नदिने, पैसाको चलखेल गर्नेको बोलवाला बढेको भन्दै असन्तुष्टि बढेको छ ।






