काठमाडौं । उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको निवेदनले कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल कारबाहीमा परेका छन् । कांग्रेस केन्द्रीय अनुशासन समितिले खनाललाई एक वर्षका लागि पार्टीबाटै निस्कासन गरेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार खनाललाई कारबाही गरिएको हो। उनीमाथि कारबाही गरेको पत्र बुधबार लुम्बिनी कांग्रेस कार्यसमितिमा पठाएको छ।

ADVERTISEMENT

२०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी बर्दघाट–१० का महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो।

ADVERTISEMENT

नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए। चौधरी नवलपरासी १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए। चुनावमा खनालले असहयोग गरेको आरोप चौधरी र कँडेलले लगाएका थिए ।

अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो। खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन कारबाहीमाथि केन्द्रित रहेर प्रश्न उठेका थिए। केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले चुनावमा असहयोग गर्नेलाई कारबाही गरिनुपर्ने धारणा राखेका थिए। चौधरी र कँडेलले खनाललाई कारबाही गर्न अनुशासन समितिमा उजुरी दिएको बुझिएको छ ।

ADVERTISEMENT