काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको आज स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा निरन्तर काम गरिने प्रतिबद्धता व्यक्त गरे

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताए ।

उनले भने “काठमाडौँको १९ महत्त्वपूर्ण सार्वजनिक र संवेदनशील क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्‍यौँ। यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचका हिसाबले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, बैतडीलगायत जिल्लाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउने लक्ष्य अनुरूप काम अगाडि बढाइएको छ।”

सञ्चारमन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलिले निःशुल्क वाइफाइ इन्टरनेट विस्तारको निरीक्षण गरेका छन ।

मन्त्री खरेलले नयाँबसपार्क, टिचिङ हस्पिटल, पशुपति परिसरको आर्यघाट र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगी सरकारले निःशुल्क उपलब्ध गराएको इन्टरनेश सेवाको लगइन गरी जाँच गरे ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णय गर्नुभएको थियो।

डेढ महिनाको अवधिमा नै निर्णय कार्यान्वयनमा आएको छ। उपत्यका बाहिरका महत्त्वपूर्ण १० वटा सहरमा पनि निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने काम अघि बढेको छ।

नयाँ बसपार्क, केही अस्पताल, पशुपति क्षेत्र परिसर, विमानस्थल, संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा निःशुल्क वाइफाइ विस्तार गरिएको हो। पाँच वटा स्थानमा नयाँ स्थापना र (निर्माणाधीन तीन) सहित आठ स्थानमा नयाँ स्थापना गरिएको छ।

पहिला वाइफाइ स्थापना भइसकेका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमतार विस्तार गरिएको छ। निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन्।

सञ्चारमन्त्री खरेलको सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ।

त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ।