काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश बन्द गर्ने सरकारले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेल सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरु अब क्रमश निष्कृय बनाउनेबारे आज निर्णय गरिने जानकारी दिए ।

सूचीकरण गर्नका लागि दिएको अवधि बुधबार मध्यरातिबाट सकिएकाले निवेदन नदिएकाहरुलाई आज दिउँसोबाट बन्द गर्न सुरु हुने उनले जनकारी दिए । कसलाई कसरी बन्द गर्ने भन्नेबारे मन्त्रीस्तरीय निर्णयबाट हुुने उनले जानकारी दिए ।

नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । त्यस अनुसार टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् ।