वासिंगटन । अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनकाअनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध अहिलेसम्मकै उत्कृष्ट अवस्थामा पुगेको छ ।
हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । ‘शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ,’ उनले भने ।
यसअघि उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गरेका थिए ।
दक्षिण चीन सागर एसियाको सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्रहरूमध्ये एक हो । चीनले यो सागरको प्रायः सम्पूर्ण भागमाथि दाबी गरेको छ भने आसियानका सदस्य राष्ट्रहरू— फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई— ले पनि आफ्नो तटीय स्वामित्व दाबी गरेका छन् । अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् ।
फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।
हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा गरेको र दुवैजना ‘अमेरिका-चीन सम्बन्ध पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको कुरामा सहमत भएको बताए ।
‘दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको ऐतिहासिक भेटले अमेरिका र चीनका लागि दीर्घकालीन शान्ति र समृद्धिको स्वर तय गरेको छ,’ उनले भने । हेग्सेथ भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गरेका छन् ।





