काठमाडौं । सरकारले तयार पारेको अनलाइन भन्सार डाटाबेस प्रणाली वीरगञ्ज भन्सार कार्यालयमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

आर्थिक वर्ष २०८२\०८३ को बजेट वक्तव्यमा समावेश योजनाअनुसार प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन गर्दै तयार गरिएको यो प्रणालीको डिजिटल माध्यमबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनालले शनिबार शुभारम्भ गरेका छन् ।

ADVERTISEMENT

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खनालले नेपालका निजी क्षेत्रहरूलाई अर्थतन्त्रको प्रमुख खम्बा भन्दै सुरक्षा र सुशासनको प्रत्याभूति सहित व्यवसाय सञ्चालन गर्न सरकारले पूर्ण प्रतिबद्धता व्यक्त गरेको बताए ।

ADVERTISEMENT

उनले अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठनद्वारा स्वीकृत सिस्टमलाई नेपालले भन्सार ऐन र नियमहरूमा समावेश गरिसकेको उल्लेख गर्दै सो प्रणालीको परीक्षणका लागि यो नयाँ अनलाइन भन्सार प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

खनालका अनुसार, प्रणालीको प्रयोगले वैध व्यापारलाई प्रोत्साहन, मूल्य अभिवृद्धि कर तथा अन्य कर प्रणाली सुदृढीकरणमा सहयोग पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग–व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णु प्रसाद ज्ञवाली, एशियाली विकास बैंकका भन्सार मूल्यांकन विज्ञ निर्मलहरी अधिकारीलगायतकाले प्रणालीको फाइदाबारे आ–आफ्ना धारणा राखेका थिए।