पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२\८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपीजी, एभिएसन टर्बाइन फ्युल एटीएफ र मट्टितेल आयात गरिएको हो ।

ADVERTISEMENT

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत संकलन भएको छ ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने ।

ADVERTISEMENT

गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु नौ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो । चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड संकलन गरेको छ ।

चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ ।

गत आवको सोही अवधिमा रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।

चालु आवको दुई महिनामा रु ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु चार अर्ब ५४ करोड राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा भने रु ६ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो ।

चालु आवको दुई महिनामा रु पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा रु ९६ करोड राजस्व संकलन भएको छ ।

गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा रु एक अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।