काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्धयन गरी समाधानका विकल्प पहिल्याउन उक्त टोली खटाइने छ ।

टोलीले समस्या समाधानका लागि संघीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ ।

मन्त्रालयले मातहतका विभाग, केन्द्र र महाशाखालाई परिवर्तित सन्दर्भमा जनचाहनाबमोजिम स्वास्थ्य क्षेत्रको क्षेत्रगत सुधार गर्न सम्बन्धित कार्यक्रमको कार्ययोजना पनि प्रस्तुत गर्न भनिएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले उल्लेख गरे ।

ती निकायलाई अल्पकालीन/तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरुवात हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची पठाउन निर्देशन दिइएको उनले जानकारी दिए ।

मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालबाट हुने सार्वजानिक खरिद प्रक्रिया, औषधि दर्ता प्रक्रियालाई पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिइएको उनले बताए । मन्त्रालय मातहतका निकायबाट सम्पादन कार्यको बारेमा आउने गुनासाका तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको उनले उल्लेख गरे ।