काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । तिहार बिदापछिको पहिलो काररोबार दिन नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ।
तिहार बिदाअघि १६.६७ अंक बढेर बन्द भएको नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो। नेप्से सामान्य अंक बढे पनि कारोबार रकम भने घटेको छ।
तिहारअघिको अन्तिम कारोबार दिन दुई अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आइतबार ३१३ स्टकको २७ हजार ८९९ पटकको कारोबारमा दुई अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एसबिएल डिबेञ्चर २०८९ को कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ । युनियन हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । हिमालयन पावर पार्टनरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ।





