काठमाडौं । चर्चित निर्देशक निश्चल बस्नेत अहिले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको प्रमुख सहयोगी बनेका छन् ।
जेनजी आन्दोलनपछि उनी युवाहरूको नयाँ दल गठनमा जुटेका छन् । यसका लागि उनले बालेन, रावस्पा छाडेकी सुमना श्रेष्ठ, रास्वपाकै गणेश कार्की, विवेकशील साझा पार्टीका मिलन पाण्डेलगायतसँग छलफल गरेका छन् ।
केही दिनअघिसम्म उनी बालेन र हर्कराज साम्पाङलाई एउटै पार्टीमा आबद्ध गराउने अभियानमा जुटेका थिए । तर हर्कले राष्ट्रिय संस्कृति पार्टी गठन गरेपछि बस्नेत बालेनसहित जेनजीको पार्टी खोल्न लागिपरेका छन् । उनले त्यसका लागि आफूले नयाँ चलचित्र निर्देशनको काम थाती राखेकोसमेत खुलाएका छन् ।
तर ‘लूट’ चलचित्रका यिनै निर्देशक बस्नेत संसद् भवनमा आगजनी गर्ने क्रममा संसद् परिसरमै भेटिएका छन् । संसद् भवनमा आगो लगाउने युवाहरूसँग उनले सेल्फी लिँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा हेर्दा संसद् भवन जलाउने काममा उनले युवाहरूलाई उत्तेजित बनाइरहेको देखिन्छ । बस्नेत पुराना दललाई विस्थापित गरेर नयाँलाई ल्याउनुपर्ने भन्ने मान्यता राख्छन् । तर देशको संसद् भवन जलाउनेको भीडमा बस्नेत पनि देखिएपछि सारा नेपाली जनता स्तब्ध देखिएका छन् ।
यस्ताे भिडियाे हेरेपछि अहिले सामाजिक सञ्जालमा राष्ट्रिय सम्पत्ति आगजनी गर्नेलाई कलाकार मान्दिनुपर्ने र उनकाे चलचित्र हेरिदिनुपर्ने भन्दै आक्राेश व्यक्त भइरहेकाे छ । यसअघि संगीतकार चेतन सापकाेटा सिंहदरबार जलाउनेमा सामेल भएकाे फाेटाे सार्वजनिक भएकाे थियाे ।










