हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि हेटौँडा–सिस्नेरी–फर्पिङ सडकखण्डमा टाइम कार्ड प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सवारीसाधनका लागि यो व्यवस्था लागू गरेको हो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले टाइम कार्ड लागू गरिएको हो।

ADVERTISEMENT

कुन खण्ड पार गर्न कति समय लाग्छ?

प्रहरीले निर्धारण गरेको टाइम कार्डअनुसार सडकका विभिन्न खण्ड पार गर्न लाग्ने समय यस्तो छ।

ADVERTISEMENT
  • हेटौँडादेखि भैँसेसम्म: २५ मिनेट
  • भैँसेदेखि भीमफेदीसम्म: ३० मिनेट
  • भीमफेदीदेखि कुलेखानीसम्म: ४० मिनेट
  • कुलेखानीदेखि फर्पिङसम्म: ४५ मिनेट

निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले अनावश्यक तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति घट्ने र दुर्घटनाको जोखिम न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ।

ADVERTISEMENT

सुरक्षित यात्राका लागि प्रहरीको आग्रह

दसैँको अवसरमा शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई ट्राफिक नियमको पालना गर्न, निर्धारित गतिमा सवारी चलाउन र यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्। समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्न पनि उनले चालकलाई सचेत गराएका छन्।

टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति थियो। चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले संयमित भएर सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबै चालकलाई आग्रह गरेको छ।