जुम्ला, देशभर तिहारको रौनक बीच जुम्लाका किसान भने खेतमै व्यस्त छन्। यहाँका किसान अहिले खेतमा पाकेको मार्सीधान काटेर घर भित्र्याउने चटारोमा छन्। चन्दननाथ नगरपालिका–२ की स्थानीय लक्ष्मी कुमाईका अनुसार किसान बिहान सबेरै खेत पुग्ने र बेलुकी अबेरसम्म धान काट्ने काममा जुटिरहेका छन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रूपमा रहेको मार्सीधान खेतीको आफ्नो निश्चित समय चक्र छ — चैतमा बीउ राख्ने, जेठ–असारमा रोपाइँ गर्ने, साउन–भदौमा गोडमेल गर्ने र असोज–कात्तिकमा कटनी गरी घरमा भित्र्याउने परम्परा रहिआएको छ। यस वर्ष पनि किसानलाई मौसमले साथ दिएको उनले बताए।
पछिल्ला वर्षहरूमा भने मार्सीधान लगाउने क्षेत्रफल घट्दै गएको कृषि कार्यालयले जनाएको छ। आव २०८०/८१ मा जुम्लामा दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा यस वर्ष घटेर एक हजार २०० हेक्टरमा मात्र सीमित भएको हो। गत वर्ष एक हजार ५०० हेक्टरमा मार्सीधान रोपिएको थियो।
कृषि कार्यालयका अनुसार अघिल्लो वर्ष जुम्लाबाट तीन हजार मेट्रिक टन मार्सीधान उत्पादन भएको र त्यसमध्ये २५० मेट्रिक टन जिल्लाबाहिर निर्यात गरिएको थियो। अहिले किसानहरूले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका जातहरू — चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ पनि रोप्ने गरेका छन्।
जुम्ली पहिचानसँग जोडिएको मार्सी चामल अहिले सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा बिक्री भइरहेको छ। रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाका अनुसार यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले मार्सी चामल किन्नलाई विशेष रुचि देखाउने गरेका छन्।






