काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीताको बढी खाँचो रहेको बताएका छन्।

सोमबार नेपाल जनप्रशासन संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट सिकेर तथा लिएर प्रयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारीता व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए।

‘आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भए पनि आधुनिक प्रशासनको आधार नैतिक र जिम्मेवार नेतृत्व हो भन्ने भावलाई बिर्सन हुँदैन,’ उनले भने, ‘मलाई लाग्दछ– आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो छ।’

ADVERTISEMENT

राष्ट्रपति पौडेलले प्रविधिको विकास र परिवर्तनको गति तीव्र बन्दै गएको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासलाई परिवर्तन गरिरहेको बताए।

ADVERTISEMENT

तर प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना नहुने उनको भनाइ थियो। इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना नहुने उनले बताए।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए। सूचना प्रविधिको विकाससँगै विस्तार भइरहेको विश्वव्यापीकरण र आधुनिकीकरणको समयमा राज्यको सफलता र विकासलाई केवल आर्थिक विकासका सूचकबाट मात्र मापन गर्न नहुने उनको भनाइ थियो।