काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौंको धरहरा र न्युरोड क्षेत्रका फुटपाथ बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। नयाँ लुगा, जुत्ता–चप्पललगायत आवश्यक सामग्री खरिद गर्न साँझपख बजार पुग्ने ग्राहकको संख्या बढ्न थालेको हो।
काठमाडौं महानगरपालिकाले फुटपाथमा पसल सञ्चालन गर्न साँझ ७:३० बजेदेखि मात्रै अनुमति दिएपछि सोही समयदेखि बजारमा किनमेल गर्ने र पसल राख्नेहरूको गतिविधि बढ्ने गरेको छ।
फुटपाथमा लत्ताकपडा, जुत्ता–चप्पल तथा अन्य दैनिक उपभोगका सामग्री बिक्रीका लागि राखिएका छन्। ठूला सपिङ मल र महँगा पसलको तुलनामा सस्तो मूल्यमा सामान पाइने भएकाले सीमित बजेट भएका ग्राहकका लागि यी बजार आकर्षणको केन्द्र बनेका छन्।
दसैँमा नयाँ लुगा लगाउने परम्पराका कारण बालबालिका तथा परिवारका सदस्यका लागि कपडा खरिद गर्ने ग्राहकको उपस्थिति पनि बढेको छ। बजारमा ग्राहकहरू आफ्नो बजेटअनुसार सामानको मूल्य बुझ्ने, मोलमोलाइ गर्ने र आवश्यक सामग्री छनोट गर्ने गरेका छन्।
चाडपर्वको किनमेल बढेसँगै धरहरा र न्युरोड क्षेत्रका फुटपाथ बजारमा दसैँको रौनक देखिन थालेको छ।












