काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ दोस्रो संशोधन’ गर्दै बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

ADVERTISEMENT

बैङ्क तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

केन्द्रीय बैङ्कले मार्गदर्शनमा संशोधन गर्दै जेन–जी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी अस्पताललाई खर्च गर्न सक्ने उल्लेख छ ।

ADVERTISEMENT

यस्तै जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।