काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ५१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले २०८२ माघ २५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत बोलकबोल हुने जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको अवधि ४२ दिनको हुनेछ। यसका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोलमा ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ भने बहुब्याजदरमा पनि बोल गर्न सकिनेछ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। स्वीकृत बोलअनुसारको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी निक्षेप संकलन खातामा जम्मा गरिनेछ।

ADVERTISEMENT

राष्ट्र बैंकले संकलित निक्षेप रकम फागुन २ गते निक्षेप खातामा राखिने र चैत १ गते सावाँ तथा ब्याज भुक्तानी गरिने जनाएको छ। संकलित निक्षेप रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा भने गणना हुने स्पष्ट गरिएको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT