काठमाडौँ,  काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि उपत्यकामा वर्षा सुरु भई क्रमशः तीव्र हुँदै गएको छ ।

पछिल्लो एक घण्टामा काठमाडौँमा ६ मिलिमिटर, ललितपुरमा ९.८ मिलिमिटर र भक्तपुरमा पाँच मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । तराईका जिल्लामध्ये पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ भने महोत्तरी र धनुषामा पनि झरी परिरहेको विभागले जनाएको छ ।

ADVERTISEMENT

पछिल्लो १२ घण्टाको विवरणअनुसार सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।

ADVERTISEMENT

विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । राति वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ ।

हाल बागमती र मधेस प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा र कोशी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

ADVERTISEMENT

वर्षा गराउने प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेकोले ती क्षेत्रमा झरी जारी रहने सम्भावना रहेको र नागरिकलाई पछिल्लो मौसमी सूचना नियमित रूपमा लिन विभागले अनुरोध गरेको छ ।