काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा परेको थियो । त्यसपछि जेठ १ गते नै विश्वासको मत लिने तयारी भए पनि कांग्रेसभित्रको असन्तुष्टि र जसपा नेपालको अनिर्णयका कारण अन्तिम समयमा प्रक्रिया रोकिएको थियो ।

ADVERTISEMENT

तर, विश्वासको मत लिनुअघि नै मधेशको सत्ता समीकरण फेरबदल भएको छ । मुख्यमन्त्री यादवले जसपा नेपाललाई बाहिर निकाल्दै एमालेलाई सरकारमा भित्र्याएका छन् । यसक्रममा जसपा नेपालका तीन मन्त्रीले राजीनामा दिएका छन् । एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार राति नै राजीनामा गरेका छन् । मुख्यमन्त्री कृष्ण यादवले मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकासमन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायातमन्त्री मनीष सुमनलाई हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए ।

ADVERTISEMENT

कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखिएको छ । जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि उसलाई गठबन्धनबाट बाहिर राखिएको हो ।

मधेशमा एमालेको सबैभन्दा धेरै २४ सिट छ । कांग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।