ढोरपाट । जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिक शुक्रबार साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ग १ ज ६१०० नम्बरको पिकअप गलकोट हटिया बजारबाट ताराखोला जाँदै गर्दा सडकबाट करिब २० मिटर तल खस्दा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।
दुर्घटनामा सोही स्थानका २४ वर्षीय मिलन परियार र ४३ वर्षीय वीरबल परियार घाइते भएका छन् । घाइतेमध्ये वीरबललाई गलकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर भएकाले पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । अर्का घाइते मिलनको उपचार भने हाल गलकोट अस्पतालमै भइरहेको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेको र तत्कालै उद्धार कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।






