काठमाडौं । इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम घोषणा भए पनि त्यसले विश्व बजारमा देखिएको उत्साह धेरै समय टिकाउन सकेको छैन । सम्झौताको भविष्यप्रति आशंका कायम रहँदा एशियाली शेयर बजारमा बिहीबार गिरावट देखिएको छ ।
बिहीबार बिहानैदेखि एशियाका प्रमुख शेयर बजारहरूमा नकारात्मक प्रभाव परेको हो । ह्याङ सेङ सूचकाङ्क र शाङ्घाई कम्पोजिट दुवैमा ०.६ प्रतिशतको गिरावट आएको छ ।त्यस्तै, दक्षिण कोरियाको कोस्पी १.११ प्रतिशतले घटेको छ भने जापानको निक्केई २२५मा पनि ०.६ प्रतिशतले गिरावट आएको छ ।
शेयर बजार ओरालो लागे पनि कच्चा तेलको मूल्य भने पुनः उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रति ब्यारेल ९६.८९ डलर पुगेको छ । यस्तै, ब्रेन्ट क्रुडको मूल्य पनि २.१ प्रतिशतले बढेर प्रति ब्यारेल ९६.७५ डलर कायम भएको छ ।
बजारको अस्थिरताको मुख्य कारण युद्धविराम उल्लंघनको आशंका र इरानको कडा अडान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले लेबनानमा भइरहेको इजरायलको आक्रमणलाई युद्धविरामको उल्लंघन भन्दै हर्मुज जलमार्ग बन्द गर्न सकिने संकेत दिएको छ ।
विश्वको तेल आपूर्तिमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग अवरुद्ध भएमा यसको प्रभाव विश्वव्यापी रूपमा पर्ने विश्लेषकहरूले बताएका छन् । विज्ञहरूका अनुसार अमेरिका–इरान–इजरायलबीचको तनावका कारण दैनिक १ करोड २० लाखदेखि १ करोड ५० लाख ब्यारेलसम्म तेल आपूर्ति प्रभावित भएको छ, जसलाई इतिहासकै ठूलो ‘सप्लाई शक’का रूपमा हेरिएको छ ।
एक महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्वका कारण सिर्जित संकट तत्काल समाधान हुने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ । थप संघर्ष बढेमा तेल अभाव, बीमा प्रिमियम वृद्धि तथा ढुवानी लागत महँगिने जोखिमसँगै विश्व बजारमा महँगी थप चर्किने सम्भावना रहेको जनाइएको छ ।







