काठमाडौँ/भक्तपुर, १५ असोज । महानवमीको अवसरमा भक्तपुर र काठमाडौंस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र तलेजु भवानी मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएपछि दर्शनार्थीहरूको घुइँचो लागेको छ। वर्षको यो एकै दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मात्र मन्दिरमा सबैलाई पूजा–दर्शन गर्ने अनुमति हुन्छ।
भक्तपुरस्थित तलेजु मन्दिरमा बिहानैदेखि नै भक्तजनहरूको लामो लाइन देखिएको छ। जनविश्वासअनुसार महानवमीकै दिन तलेजु भवानी प्रकट हुने भएकाले वर्षभर प्रतीक्षा गरेका भक्तजन आज विशेष पूजा–आराधनाका लागि यहाँ जम्मा हुने गर्दछन्।
ऐतिहासिक विवरणअनुसार सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टि हेरिएपछि देवी त्यहाँबाट हराएको र पछि वर्षको एकपटक मात्र आउने वचन दिएको धार्मिक किंवदन्ती प्रचलित छ। त्यसयता हरेक महानवमीका दिन तलेजु भवानीको विशेष पूजा हुँदै आएको छ। त्यस्तै, अर्को किंवदन्तीअनुसार देवी बालिकाको शरीरभित्र प्रवेश गरी कुमारीको रूपमा विराजमान भएको विश्वास गरिन्छ। यही कारणले भक्तपुरबाट सुरु भएको कुमारी पूजाको परम्परा पछि काठमाडौं र ललितपुरमा विस्तार भएको बताइन्छ।
यसैबीच, काठमाडौं दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ। नयाँ सडकको जुद्ध शालिकदेखि नै लामो लाइन बनेको छ। अनुमानअनुसार आज काठमाडौं र भक्तपुर दुवै तलेजु मन्दिरमा लाखौं भक्तजन पूजाआजा र दर्शनका लागि पुग्नेछन्।





