नेपाली बजारमा लोकप्रिय कम्प्याक्ट विद्युतीय कार (Dongfeng) नामी बक्स ईभीको मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार यसको ठूलो ब्याट्री भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
कम्पनीले मूल्य घटाएसँगै सुरक्षा र स्मार्टफोन कनेक्टिभिटीसम्बन्धी केही नयाँ फिचर थपेको छ भने केही फिचर हटाएको जनाएको छ। नयाँ मोडलमा ६ वटा एयरब्याग, डार्क मोड, एम्बियन्ट लाइट, एप्पल कारप्ले र एन्ड्रोइड अटो थपिएका छन्।
नामी बक्स दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ३१.४ किलोवाटआवर ब्याट्रीले २३७ किलोमिटर र ४२.३ किलोवाटआवर ब्याट्रीले ३१७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
नयाँ मूल्य र थपिएका फिचरले करिब ३० लाख रुपैयाँ आसपासको बजेटमा ईभी खोज्ने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।





