म्याग्दी। वर्षा कम हुँदै गएपछि शरदको निलो आकाश खुल्दै, पहाडको हरियाली पृष्ठभूमिमा सेताम्मे हिमशृङखला चम्किँदै छ। रातोमाटो र कमेरो छेपेर रंगिएका घर, खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला, लिङ्गे–पिङ्गमा बालबालिकाको रमाइलो—म्याग्दीका गाउँघरमा शरद्याम र दसैँको रौनक छाएको छ।
मालिका गाउँपालिका–३ का गोविन्द पटेलका अनुसार, सहर बजार र विदेशमा रहेकाहरू जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको छ। “अघिपछि गाउँघरमा युवा थिएनन्, तर फर्किएका आफन्त र साथीभाइसँगै रौनक छाएको छ। चाडपर्वले वर्षौपछिका मिलन गराउँदा उमंग थपिएको छ,” उहाँले भन्नुभयो।
म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा छन्। करिब एक लाख सात हजार जनसंख्या रहेको जिल्लामा वि.स. २०६८ पछिको दश वर्षमा करिब सात हजार जनाले बसाइसराइ गरेका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसर खोज्दै मानिसहरू सहर र विदेश गएका छन्। आर्थिक वर्ष २०८१/०८२ मा ८९ परिवार म्याग्दीमा बसाईसराइ गर्दा २४७ परिवारले अन्यत्र सरेको तथ्यांक छ।
गाउँमा सामान्यतया विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिक बढी देखिन्छन्। तर चाडपर्वमा युवा उमेर समूहका मानिसहरू जन्मथलो फर्किएपछि चहलपहल बढेको छ। धवलागिरी–७ का सुनेश केसी पाँच वर्षपछि कोरियाबाट दशैँ मनाउन गाउँ आएका छन्। “विदेशमा हुँदा गाउँघर सम्झिँदा न्यास्रो लाग्थ्यो, तर चाडपर्वले यहाँको आत्मीयता र साथीभाइको भेटले खुशी दिलाउँछ,” उनले बताए।
बेनी नगरपालिका–५ का दिनेश बानियाले भने, “गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति झल्किन्छ। आफन्त र साथीभाइको भेटले विगत सम्झाइ नयाँ योजना बनाउन मद्दत गर्छ।”
रघुगङ्गा–४ दग्नामकी सोनालिका गर्बुजाले पनि नवदुर्गा पूजाको महत्त्व सम्झाउँदै भनिन्, “बच्चाको झल्को मेटाउन लिङ्ग पिङ हालेका छौं। गाउँघरको पिङ्गमा खेल्न पाउनु नै दसैँको विशेष अनुभव हो।” पोखराबाट आएका खुम पुनले पनि बाँसको लिङ्गो गाडेर पिङ्ग खेल्ने रमाइलो अनुभव सुनाए।
गाउँमा बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाइ गरिएको छ। अधिकांश कोतघरमा महानवमीको दिन मेला लाग्ने परम्परा अझै निरन्तरता पाएको छ। ज्यामरुक, भगवती, ताकम, बेनी र घतान लगायतका कोतघरमा लागेको मेला स्थानीय र बाह्य पाहुनाको आकर्षणको केन्द्र बनेको छ।










