कञ्चनपुर। दसैँ घरआँगनमै आइपुगेको छ, तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्ने सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो केवल सपना जस्तै बनेको छ। दुई छाकको खाना जुटाउनै संघर्ष भइरहेको अवस्थामा दसैँले उनीहरूको पीडा झन् बढाएको छ।

६५ वर्षीया माथुदेवी दमाईंले विगतका दुःखद अनुभव सम्झँदै भन्नुभयो, “कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदैछ, सधैँ मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ। दसैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ, तर पैसो छैन। आश मात्रै गरेर के हुन्छ र?”

ADVERTISEMENT

वनहरा शिविरमा अहिले वृद्धवृद्धा, महिला र बालबालिकामात्र बस्छन्। युवा मजदुरीका लागि भारततर्फ गएका छन् र दसैँ भए पनि फर्केका छैनन्। शिविरवासी देउमती देवी बोहराले बताइन्, “कमाइ नभएकाले तिहारमा फर्किन सक्दिनौँ, यसपाली दसैँ खल्लो नै भयो।”

बालबालिका र वृद्धवृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजान समेत कसैले साथ दिँदैन। “नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भयो, मीठो मसिनो खानु त टाढाको कुरा भयो। बिहान–साँझको छाक जुटे भने ठूलो कुरा हुन्छ,” उनीहरूले दुखेसो पोखे।

ADVERTISEMENT

वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन्। तर, त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन्। रञ्जित रावतले भन्नुभयो, “कोही डोरीको खटिया राखेर सुत्छन्, कोही भुइँमै बोरी ओछ्याएर। लामखुट्टेले टोकेर निन्द्रै पर्दैन, ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ।”

दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन्। तर समस्या यथावत् छ। दलबहादुर बोहराले भने, “पुलमुनि सुत्दै आएको वर्षौं भयो, तर हाम्रोबारेमा सोच्ने कोही छैन। झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धाएको, सुनुवाइ भएन।”

शिविरवासीले जनप्रतिनिधिबाट समाधानको आश पाएका भए पनि अहिले उनीहरू मौन छन्। “अब त माग्न जानै छाडेका छौँ,” उनीहरूले गुनासो गरे।

वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन्, तर टुङ्गो भने लागेको छैन। झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन्। यस वर्षको दसैँले उनीहरूको जीवनमा खुसीभन्दा बढी पीडा बोकेको छ।