काठमाडौँ, नेपालले वेस्ट इन्डिजलाई लगातार दोस्रो खेलमा पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलाको उपाधि एक खेल अगावै जितेको छ ।
सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले ९० रनको फराकिलो जित हात पार्दै ऐतिहासिक शृङ्खला आफ्नो पक्षमा पारेको हो ।
पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित आक्रामक ६३ रनको योगदान दिए । मोहम्मद आदिल आलमले थप ११ रन जोडे ।
जवाफमा १७.१ ओभरमै अलआउट भएको वेस्ट इन्डिज ८३ रनमै सीमित रह्यो । जेसन होल्डरले १५ बलमा दुई छक्का प्रहार गर्दै सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १७ र अमिर जांगोले १६ रन जोडे ।
नेपालका लागि आदिल आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट हात पारे । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
यसअघि पहिलो खेलमा समेत वेस्ट इन्डिजलाई हराएको नेपालले लगातार दुई जितसँगै युनिटी कप टी–२० शृङ्खला जितेको हो ।







