काठमाडौं । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । २ असोजदेखि सर्वोच्चमा इजलास बस्न सुरु भएको हो ।
पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।
सर्वोच्चको भवनभित्र जसरी नै पालमुनि पनि सुनुवाइ भइरहेको हो । भवनमा सुन्ने धेरै हुन्थे । तर पालमुनि थोरै हुने गरेका छन् । दुई दिने जेनजी आन्दोलनका क्रममा देशका १० वटा अदालतमा आगजनी गरिएको छ । तर, सबैभन्दा धेरै क्षति सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, कास्की जिल्ला अदालतमा भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीका मुद्दा जुन जुन अदालतमा चलेका छन् । ती अदालत र फाँट छानीछानी आगो लगाइएको छ ।







