काठमाडौं । असोज ९ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा छोराछोरीको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवा र बुवाको त्याग नबुझ्ने सन्तानको कथा प्रस्तुत गरिएको छ।

ट्रेलरमा घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदानलाई छोराले बेवास्ता गरेको देखाइएको छ। बुवाले सम्पत्ति बाँडफाँटको कुरा गर्दा छोराले अस्वीकार गर्ने तथा आफ्नै अभिभावकको समस्या नबुझ्ने अवस्थालाई पनि ट्रेलरमा समेटिएको छ।

ADVERTISEMENT

मध्यमवर्गीय परिवारमा छोराछोरीका महत्वाकांक्षा र अव्यावहारिक निर्णयका कारण उत्पन्न हुने आर्थिक तथा पारिवारिक समस्यालाई फिल्मले कथाको मुख्य विषय बनाएको छ। ट्रेलरमा छोराभन्दा छोरीले अभिभावकको समस्या बढी बुझ्ने संकेतसमेत गरिएको छ भने छोरीसँग जोडिएको कथालाई भने सस्पेन्समा राखिएको छ।

ADVERTISEMENT

फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ गीतमा संगीत दिएका लम्सालको यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालकै रहेको छ। फिल्मका निर्माता वसन्त लम्साल हुन्।

ADVERTISEMENT