काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको प्रदर्शनका क्रममा राज्यका अत्यावश्यक संस्थामा छानीछानी आक्रमण भएको बताएकी छिन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार पदभार ग्रहणपछि उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री कार्कीले योजनावद्ध र षड्यन्त्रमूलक ढंगबाट आक्रमण गरिएको बताइन्।

‘मुलुकको अत्यन्त आवश्यक संस्थाहरूमा छानीछानी प्रहार भएको छ। अदालतका फाइल, सिंहदरबारका पुराना रेकर्डहरु सबै नष्ट भयो,’ उनले भनिन्, ‘बडो आश्चर्यको कुरा छ। किन देशको शासन चलाएको भवनमा आक्रमण गरियो ? यसको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालयलगायत एक दर्जन मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, स्वास्थ्य मन्त्रालय, संसद् भवन, रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं जिल्ला अदालत, नेपाल प्रहरीको मुख्यालयबाहेक सबै प्रहरी कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नेताहरूका घर, व्यापारिक क्षेत्र, उद्योग, कलकारखाना, होटेललगायतमा तोडफोड र आगजनी गरी १० खर्ब बराबरको क्षति गरिएको छ ।